कपिलवस्तु, असोज २३ गते ।दलित सामाजिक विकास केन्द्र कपिलवस्तुको अध्यक्षमा सुनिल रैदास निर्विरोध निर्वाचित हुनुभएको छ। संस्थाको २२औँ साधारण सभा तथा १०औँ अधिवेशनबाट रैदासको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

संस्थाकी अध्यक्ष सुरजमति पासीको अध्यक्षता तथा गैरसरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डेयको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा संस्थाको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो।

कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक रामशरण रैदासले प्रगति प्रतिवेदन र कोषाध्यक्ष नीलम कुमारी पासीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। अनिता श्रीमालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा संस्थाका गतिविधि, उपलब्धि तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो।

अधिवेशनबाट उपाध्यक्षमा नीलम कुमारी पासी, सचिवमा रोहित लाल कोरी, सहसचिवमा विश्राम कोरी र कोषाध्यक्षमा कुसुम कोरी निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा राजकुमार हरिजन, अनिता धोबी, अनिता पासी र अनिता श्रीमाल चयन हुनुभएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जयप्रकाश पाण्डेयले सामाजिक रूपान्तरण तथा पछाडि पारिएका समुदायको अधिकार सुनिश्चित गर्न गैरसरकारी संस्थाहरूले जिम्मेवार र प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
उहाँले दलित, महिला, विपन्न तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि सञ्चालन गरिने कार्यक्रमलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिनुभयो।दलित सामाजिक विकास केन्द्र समुदायस्तरमा गर्दै आएका सामाजिक विकास तथा सशक्तीकरणसम्बन्धी कार्य सराहनीय रहेको उल्लेख गर्दै उहाँले संस्थाले आगामी दिनमा पनि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै, निर्वाचन समितिका संयोजक प्रविणकुमार श्रीवास्तवले अधिवेशनबाट नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भएको जानकारी दिँदै निर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिनुभयो। उहाँले संस्थाको उद्देश्यअनुसार पारदर्शी र जिम्मेवार ढङ्गले काम गर्दै लक्षित समुदायको हितमा योगदान पुर्याउन नयाँ नेतृत्वलाई आग्रह गर्नुभयो।
नवनिर्वाचित कार्यसमितिले संस्थाको उद्देश्यअनुरूप सामाजिक न्याय, समानता, समावेशिता तथा दलित र सीमान्तकृत समुदायको सशक्तीकरणका क्षेत्रमा काम गर्ने अपेक्षा गरिएको छ।




