कपिलवस्तु, असोज ३० गते ।
नेपालीहरूको महान् चाड विजयादशमीलाई लक्षित गर्दै शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने उद्देश्यले कपिलवस्तु नगरपालिकाले प्रहरी प्रशासनलाई मोटरसाइकल सहयोग गरेको छ।

कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलको पहलमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर प्रसाद भट्टको उपस्थितिमा इलाका प्रहरी कार्यालय पिपराका लागि मोटरसाइकलको साँचो हस्तान्तरण गरिएको हो। हस्तान्तरणपछि उक्त मोटरसाइकल अस्थायी प्रहरी बिट जहदीलाई प्रदान गरिएको जनाइएको छ।
मोटरसाइकल सहयोगमा कपिलवस्तु नगरपालिका वडा नम्बर १० र वडा नम्बर ११ को विशेष सहयोग रहेको छ। चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी गस्तीलाई थप प्रभावकारी बनाउने तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्ने उद्देश्यले मोटरसाइकल सहयोग गरिएको हो।
मोटरसाइकल उपलब्ध भएपछि प्रहरीलाई नियमित गस्ती, शान्ति सुरक्षा कायम गर्न तथा आपत्कालीन अवस्थामा घटनास्थलसम्म छिटो पुग्न सहज हुने अपेक्षा गरिएको छ।
जनताको सुरक्षा र सेवामा समर्पित प्रहरी प्रशासनलाई आवश्यक साधनस्रोत उपलब्ध गराउने स्थानीय सरकारको यस पहललाई सकारात्मक रूपमा लिइएको छ। स्थानीय सरकार र सुरक्षा निकायबीचको सहकार्यले शान्ति सुरक्षा कायम गर्न तथा नागरिकमा सुरक्षाको अनुभूति बढाउन थप मद्दत पुग्ने विश्वास गरिएको छ।
यस अवसरमा कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल, वडा नम्बर १० र ११ का जनप्रतिनिधि तथा सहयोगी निकायप्रति धन्यवाद व्यक्त गरिएको छ।
सुरक्षित दशैँ, शान्तिपूर्ण समाज र प्रभावकारी जनसेवा निर्माण गर्ने उद्देश्यसहित स्थानीय सरकार र प्रहरी प्रशासनबीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।




