रुपन्देही। लुम्बिनी सांस्कृतिक नगरपालिका–१३ स्थित शुक्रौलीको शहरी स्वास्थ्य केन्द्र भवनमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको मासिक प्रगति समीक्षा बैठक सम्पन्न भएको छ। समुदायमा स्वास्थ्य सेवा प्रभावकारी बनाउने, जनचेतना बढाउने र नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले बैठक आयोजना गरिएको हो।

२०८३ असोज ३० गते सम्पन्न बैठकमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले समुदायमा सञ्चालन गर्दै आएका स्वास्थ्यसम्बन्धी गतिविधि तथा सेवाको प्रगति समीक्षा गरेका थिए। साथै, आगामी दिनमा स्वास्थ्य सेवालाई थप सहज, प्रभावकारी र जनमुखी बनाउने विषयमा छलफल गरिएको थियो।

बैठकमा स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, समुदायमा स्वास्थ्य सेवाको पहुँच बढाउने तथा स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउने विषयमा जोड दिइएको थियो। समुदायको स्वास्थ्य अवस्था सुधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले पुर्याउँदै आएको योगदानबारे समेत चर्चा गरिएको थियो।

कार्यक्रममा शहरी स्वास्थ्य केन्द्रका प्रमुख अनिल बरईले उपस्थित सबैलाई नेपालीहरूको महान् चाड बडादसैँ, तिहार तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभयो। उहाँले चाडपर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र आपसी सद्भाव कायम गरोस् भन्ने कामना गर्नुभयो।

बैठकमा कलाउमती हरिजन, जयपारी मुराव, रिमा गिरी, राधिका, शान्ति कुमारी राजभर, राजवन्ती मल्लाह, सम्झना, दीपक चौहान, अनिल पटेल, अर्जुन यादव, तीर्थ लोध, बसन्ती हरिजन, सुनिता लोध, अवधेश कहार, दयाराम यादव, रामजीवन्ती गुराब, राजकुमार मौर्य, रामसुरेश यादव, राजेश कुमार यादव र सिम्पु श्रीवास्तवलगायत स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।

बैठकले स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाबीचको सहकार्यलाई थप मजबुत बनाउँदै स्थानीयस्तरमा स्वास्थ्य सेवा प्रवाहको गुणस्तर सुधार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




