थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

राजु चौधरी थारु

नेपालको तराई क्षेत्रको इतिहास, संस्कृति, भाषा, परम्परा र सामाजिक विकाससँग थारू समुदायको गहिरो सम्बन्ध रहेको छ । आफ्नै मौलिक पहिचान, श्रम, सीप र संस्कृतिका कारण थारू समुदाय नेपालको सामाजिक विविधताको महत्वपूर्ण हिस्सा बनेको छ ।

तर विडम्बना के छ भने, लामो ऐतिहासिक पृष्ठभूमि र महत्वपूर्ण सामाजिक योगदान हुँदाहुँदै पनि आज थारू समुदायलाई राज्यका विभिन्न नीति तथा कार्यक्रमहरूमा पछाडि परेको समुदायका रूपमा चिनिन्छ । यही असमानतालाई कम गर्न राज्यले आरक्षण, समावेशिता र लक्षित अवसरको व्यवस्था गरेको छ ।

आरक्षणको व्यवस्था हुनु आफैमा सकारात्मक पक्ष हो । ऐतिहासिक रूपमा अवसरबाट वञ्चित भएका समुदायलाई शिक्षा, रोजगारी, लगायत राज्यका बिभिन्न निकायहरुमा प्रवेश गर्न सहज बनाउनु सामाजिक न्यायको महत्वपूर्ण आधार हो । तर यहाँ एउटा गम्भीर प्रश्न उठ्छ के आरक्षणबाट प्राप्त अवसरलाई नै हाम्रो अन्तिम लक्ष्य बनाउने कि त्यसलाई आधार बनाएर खुला प्रतिस्पर्धामा समेत आफूलाई स्थापित गर्ने…?

यो प्रश्न आज प्रत्येक थारू युवा, अभिभावक, बुद्धिजीवी, सामाजिक अभियन्ता र नेतृत्वकर्ताले गम्भीरतापूर्वक सोच्नुपर्ने विषय भएको छ ।आरक्षण एउटा अवसर हो तर क्षमता विकासको अन्तिम विकल्प भने होइन :आरक्षण कुनै दयामाया, कृपा वा उपकार होइन । यो समुदायमा रहेको असमानता र अवसरको असन्तुलनलाई कम गर्न राज्यले अपनाएको समावेशी उपाय हो ।

समाजमा सबै नागरिक अथवा समुदायले समान अवसर पाउन सकिरहेका छैनन् भने समानताको लक्ष्य प्राप्त गर्न विशेष व्यवस्था आवश्यक पर्न सक्छ । त्यसैले आरक्षणको औचित्यलाई अस्वीकार गर्नु न्यायोचित हुँदैन । तर आरक्षणको औचित्य स्वीकार गर्नु र त्यसैमा मात्र निर्भर रहनु हुदैन ।यदि कुनै थारू समुदायका विद्यार्थीले आरक्षण कोटाबाट सरकारी सेवामा प्रवेश गर्ने अवसर प्राप्त गर्छ भने त्यो उसको राज्यले उपलब्ध गराएको अवसर सदुपयोग गर्ने राम्रो उपलब्धि हो ।

तर त्यही विद्यार्थीले आफ्नो ज्ञान, सीप, क्षमता र मेहनतका आधारमा खुला प्रतिस्पर्धाबाट पनि सफलता प्राप्त गर्न सक्ने अवस्था बनाउनु अझ व्यापक लक्ष्य हुनुपर्छ वा राख्नुपर्छ । आरक्षणबाट प्रवेश गरेको व्यक्तिले पनि खुला प्रतिस्पर्धाबाट उत्कृष्ट नतिजा हासिल गर्न सक्छ भन्ने उदाहरण समाजमा स्थापित हुनु आवश्यक छ ।

हामीले बुझ्नुपर्ने कुरा के हो भने आरक्षण एउटा ढोका खोल्ने माध्यम हुन सक्छ, तर त्यस ढोकाबाट अगाडि बढेर आफ्नो क्षमता प्रर्दशन गर्नु हाम्रो दायित्व पनि हो ।आरक्षणमा मात्र निर्भर रहने मानसिकता त्यागौँ :कुनै पनि समुदायको वास्तविक प्रगति केवल राज्यले उपलब्ध गराएका सुविधाबाट मात्र मापन हुँदैन । त्यस समुदायका नागरिकले आफ्नो क्षमता योग्यता कति विकास गरेका छन्, शिक्षामा कति प्रगति गरेका छन्, उद्यमशीलतामा कति अघि बढेका छन्, नेतृत्वमा कति सहभागिता जनाएका छन् र समाजको समग्र विकासमा कस्तो योगदान दिएका छन् भन्ने कुराले पनि प्रगतिको मापन गर्छ ।

यदि हामीले हाम्रा सन्तानलाई सधैँ आरक्षणको सुविधा मात्र पाइन्छ भन्ने आशामा मात्र हुर्कायौँ भने उनीहरूको आफ्नो क्षमता अनुसार काम गर्ने बानीलाई सीमित बनाइरहेका हुन सक्छौँ । तर उनीहरूलाई आरक्षणका अवसरबारे जानकारी दिँदै खुला प्रतिस्पर्धाका लागि समेत योग्य बनायौँ भने उनीहरूका अगाडि बढने सम्भावनाका धेरै ढोका खुल्न सक्छन् ।आजको विश्व ज्ञान, प्रविधि, सीप, सिर्जनशीलता र प्रतिस्पर्धाको विश्व हो ।

सरकारी सेवा प्रवेशदेखि उच्च शिक्षा, व्यावसायिक क्षेत्र, उद्यमशीलता, अनुसन्धान, प्रविधि र अन्तर्राष्ट्रिय अवसरसम्म हरेक क्षेत्रमा आफ्नो योग्यता निरन्तर विकास गर्नुपर्ने आवश्यकता छ । त्यसैले थारू समुदायले आरक्षणको अधिकार सुरक्षित राख्दै खुला प्रतिस्पर्धामा सहभागी हुने संस्कार पनि विकास गर्नुपर्छ ।

आरक्षण लिनु कमजोरी होइन, तर आरक्षण बाहेकका अवसरबारे सोच्नै नचाहनु भने आफ्नै क्षमतालाई साँघुरो बनाउनु र खुला प्रतिस्पर्धासँग डराउनु हो ।हाम्रा सन्तानलाई प्रतिस्पर्धी बनाऔँ, आफै अवसर खोज्न सक्ने बनाऔँ :थारू समुदायको भविष्य आजका बालबालिका र युवाको तयारीसँग जोडिएको छ ।

हाम्रा सन्तानले राम्रो शिक्षा पाऊन्, विज्ञान र प्रविधिमा दक्ष बनून्, अंग्रेजी तथा अन्य भाषामा दक्षता हासिल गरून्, सूचना प्रविधि सिकून्, लोकसेवा र अन्य प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरून् भन्ने सोच परिवारदेखि समुदायसम्म स्थापित हुनुपर्छ । हामीले आफ्ना छोराछोरीलाई केवल आरक्षणबाट कुन पद पाइन्छ भनेर मात्र सिकाउनु हुँदैन । उनीहरूलाई खुला प्रतिस्पर्धाबाट पनि अधिकृत, इन्जिनियर, चिकित्सक, प्राध्यापक, वैज्ञानिक, उद्यमी, प्रशासक र कुशल नेतृत्वकर्ता बन्न सकिन्छ भन्ने आत्मविश्वास दिनुपर्छ ।

यसका लागि विद्यालय शिक्षाको गुणस्तर, अध्ययन गर्ने वातावरण, आर्थिक रूपमा कमजोर विद्यार्थीलाई सहयोग, छात्रवृत्तिको सही उपयोग, करियर परामर्श र प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी गर्ने अवसरमा ध्यान दिन आवश्यक छ ।गाउँगाउँमा अध्ययन समूह, पुस्तकालय, निःशुल्क वा न्यून शुल्कमा तयारी कक्षा, अनुभवी व्यक्तिबाट मार्गदर्शन र सफल व्यक्तिसँग अनुभव आदानप्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न सकिन्छ । थारू समुदायका सफल व्यक्तिहरूले आफ्नो अनुभव नयाँ पुस्तासँग बाँड्नुपर्छ ।

सक्षम व्यक्तिले पछाडि रहेका विद्यार्थीलाई सहयोग गर्ने संस्कारको विकास गर्नुपर्छ ।थारू नेतृत्वले अब नयाँ सोच विकास गर्नुपर्छ :थारू समुदायका राजनीतिक नेता, सामाजिक अभियन्ता, संघसंस्थाका प्रतिनिधि, बुद्धिजीवी र शिक्षित युवाको भूमिका यसमा महत्वपूर्ण हुन्छ । समुदायको हकहितका लागि आवाज उठाउनु, आरक्षण र समावेशिताको अधिकार संरक्षण गर्नु आवश्यक छ । तर त्यससँगै समुदायको शैक्षिक, आर्थिक र बौद्धिक क्षमता अभिवृद्धिका लागि दीर्घकालीन योजना बनाउनु पनि उत्तिकै जरुरी छ ।

थारू समुदायका संघसंस्थाले केवल अधिकारका माग उठाउने मात्र होइन, प्रतिस्पर्धात्मक क्षमता विकास गर्ने कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ । आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीलाई छात्रवृत्ति र अध्ययन सामग्री उपलब्ध गराउने । लोकसेवा, शिक्षक सेवा, प्राविधिक शिक्षा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि तयारी कार्यक्रम सञ्चालन गर्ने । युवालाई उद्यमशीलता, सूचना प्रविधि, भाषा र व्यावसायिक सीपमा दक्ष बनाउने । ख्याती प्राप्त गरेका थारू व्यक्तित्वहरूको अनुभव र उपलब्धिलाई नयाँ पुस्तासम्म पु¥याउने । आरक्षणको प्रभावकारी कार्यान्वयनसँगै खुला प्रतिस्पर्धामा सहभागिता बढाउने लक्ष्य राख्ने ।

समुदायको नेतृत्वले युवालाई केवल अवसर माग्न सिकाउने होइन, उपलब्ध अवसरको सदुपयोग गर्न र नयाँ अवसर सिर्जना गर्न र हरेक प्रतिस्पर्धमा खूल्ला रुपमा सहभागी हुन पनि प्रेरित गर्नुपर्छ ।हाम्रो पहिचान केवल आरक्षणमा सीमित हुनु हुँदैन :थारू समुदायको पहिचान यसको भाषा, संस्कृति, परम्परा, इतिहास, श्रम, सामाजिक सम्बन्ध र मौलिक जीवनशैलीसँग जोडिएको छ ।

समुदायको गौरवपूर्ण पहिचानलाई संरक्षण गर्दै आधुनिक शिक्षा, विज्ञान, प्रविधि र आर्थिक विकासमा अग्रसर हुनु आजको आवश्यकता हो ।हामीले आफ्नो मौलिक संस्कृति जोगाउँदै आधुनिक ज्ञान हासिल गर्न सक्छौँ । आफ्नो मातृभाषालाई सम्मान गर्दै अन्य भाषामा पनि दक्ष हुन सक्छौँ । आफ्नो परम्परामा गर्व गर्दै नयाँ आविष्कार र उद्यमशीलतामा अघि बढ्न सक्छौँ । आफ्नो समुदायको अधिकारको संरक्षण गर्दै राष्ट्रको समग्र विकासमा योगदान दिन सक्छौँ ।

त्यसैले थारू समुदायले आफूलाई सधैँ पछाडि परेको समुदायका रूपमा मात्र बुझिरहनु हुँदैन । विगतका कठिनाइ र विभेदलाई स्वीकार गर्दै तिनलाई हटाउने प्रयास गर्नुपर्छ, तर आफ्नो भविष्यलाई विगतका सीमाभित्र कैद गर्नु हुँदैन । हामीले आफ्ना सन्तानलाई यस्तो शिक्षा दिनुपर्छ कि उनीहरूलाई आफ्नो समुदायको अधिकारबारे ज्ञान होस्, अन्यायविरुद्ध आवाज उठाउने साहस होस् र योग्यताका आधारमा जुनसुकै प्रतिस्पर्धामा सहभागी हुने आत्मविश्वास पनि आओस ।आफ्नो अधिकारको रक्षा गर्दै क्षमताको पनि विस्तार गरौँ :आज थारू समुदायका युवासामु एउटा महत्त्वपूर्ण अवसर छ ।

उनीहरूले आरक्षणबाट प्राप्त अवसरको सदुपयोग गर्दै खुला प्रतिस्पर्धामा समेत आफ्नो स्थान बनाउन सक्छन् । यसका लागि राज्यको समावेशी नीति, समुदायको सामूहिक प्रयास, परिवारको सहयोग र युवाहरुको व्यक्तिगत मेहनत एकसाथ अघि बढ्नुपर्छ । हामीले राज्यसँग आरक्षणको अधिकार संरक्षण र प्रभावकारी कार्यान्वयनको माग गरिरहनुपर्छ । साथै, आफ्ना सन्तानलाई उत्कृष्ट शिक्षा, सीप र आत्मविश्वास प्रदान गर्ने जिम्मेवारी पनि निर्वाह गर्नुपर्छ ।

थारू समुदायका युवालाई मेरो आग्रह छ, आफ्नो क्षमतामा विश्वास गर्नुहोस् । आरक्षणको अवसरलाई सम्मान गर्नुहोस्, तर त्यसैमा मात्र आफ्नो सम्भावनाको सीमा निर्धारण नगर्नुहोस् । अध्ययन गर्नुहोस्, सीप सिक्नुहोस्, प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुनुहोस्, उद्यमशील बन्नुहोस् र आफूले चाहेको क्षेत्रमा उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्नुहोस् । अभिभावकलाई आग्रह छ, छोराछोरीलाई केवल आरक्षणको आशा देखाएर होइन, मेहनत र योग्यताको महत्व बुझाएर हुर्काउनुहोस् ।

सामाजिक संघसंस्थालाई आग्रह छ, अधिकार संरक्षणसँगै क्षमता विकासलाई आफ्नो कार्ययोजनाको महत्वपूर्ण हिस्सा बनाउनुहोस् । राज्यलाई आग्रह छ ऐतिहासिक रूपमा पछाडि परेका समुदायका लागि समावेशी अवसरको निरन्तरता दिँदै गुणस्तरीय शिक्षा र प्रतिस्पर्धाका लागि आवश्यक आधार सुनिश्चित गरिदिनुहोस् ।

अन्त्यमा, हामीले एउटा कुरा स्पष्ट रूपमा बुझ्नुपर्छ आरक्षणले अवसरको ढोका मात्र खोल्न सक्छ, तर ज्ञान, सीप, मेहनत र आत्मविश्वासले अगाडिको यात्रा तय गर्न सहयोग गर्छ । थारू समुदायको भविष्य आरक्षणको अधिकारलाई सुरक्षित राख्दै खुला प्रतिस्पर्धामा पनि आफ्नो क्षमता प्रर्दशन गर्न सक्ने पुस्ता निर्माणमा निर्भर छ ।

हामी आरक्षणको विरोधी होइनौँ, आरक्षणमा मात्र सीमित रहने सोचका विरोधी हौँ । हामी अवसरका मागकर्ता मात्र होइनौँ, अवसर सिर्जना गर्न सक्ने सक्षम नागरिक पनि बन्न चाहन्छौँ ।

थारू समुदायको वास्तविक उन्नति त्यतिबेला अझ व्यापक हुनेछ, जब हाम्रा युवाले समावेशी अवसरको उपयोग गर्दै खुला प्रतिस्पर्धामा पनि आत्मविश्वासका साथ सहभागिता जनाउनेछन्, आफ्नो योग्यता प्रमाणित गर्नेछन् र समाज तथा राष्ट्रको नेतृत्वदायी भूमिकामा महत्वपुर्ण योगदान पु¥याउनेछन् ।

Related Posts

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै राधेश्वरी बरईको राजनीतिक सक्रियता र उपमेयर पदप्रतिको दावेदारीले स्थानीय राजनीतिक वृत्तमा चर्चा पाउन थालेको छ। नगरपालिकाको उपमेयर पदका लागि राधेश्वरी…

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

कपिलवस्तु, कार्तिक १ गते ।कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी (लाला) चौधरीले हिन्दू धर्मावलम्बीहरूको महान् पर्व विजयादशमी, दीपावली तथा छठ पर्वको पावन अवसरमा गाउँपालिकावासीसहित देश तथा विदेशमा रहनुभएका सम्पूर्ण…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You Missed

थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

  • By admin
  • October 29, 2026
  • 102 views
थारू समुदाय अब आरक्षणमा मात्र सीमित नभई खुला प्रतिस्पर्धामा पनि अग्रसर हुनुपर्छ

दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

  • By admin
  • October 20, 2026
  • 268 views
दमखमका साथ उपमेयर पदमा दावेदारी प्रस्तुत गर्दै राधेश्वरी बरई

शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 56 views
शुद्धोधन गाउँपालिकाका उपाध्यक्ष होम प्रकाश चौधरी(लाला) चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 86 views
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष अकरामुद्दीनद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 102 views
युवा नेता रजनीकान्त चौधरी द्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त

  • By admin
  • October 18, 2026
  • 88 views
लुम्बिनी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री सी.के. गुप्ताद्वारा दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त