रूपन्देही –
हिजो साँझ छठ पूजाको अवसरमा रूपन्देहीका विभिन्न स्थानहरूमा श्रद्धा र भक्तिभावका साथ पूजापाठ सम्पन्न गरियो। लुम्बिनी, खुंगाई स्थित श्री लक्ष्मी नारायण मन्दिर, लङ्कापुर, भभाई घाट, एकला लम्तिहवर घाट र सूर्यपुरा सहितका घाट तथा पोखरीहरूमा भक्तजनहरूको ठूलो भीड देखियो।

सूर्यदेवको आराधना र आत्मशुद्धिको प्रतीकका रूपमा मनाइने यो पर्वमा महिलाहरूले निर्जल व्रत बसेर अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरे। आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइँदै पर्वको समापन गरिएको छ।
लुम्बिनी क्षेत्रका घाटहरू दीप, बत्ती र फूलमालाले झिलिमिली बनेका थिए। छठी मइयाको गीत, भजन र पारम्परिक नाचगानले वातावरण भक्तिमय बनेको थियो।
स्थानीय प्रशासनले सुरक्षाको कडा व्यवस्था गरेको थियो भने प्रहरी टोलीहरू प्रमुख घाटहरूमा तैनाथ गरिएको थियो। छठ पर्वले रूपन्देहीमा धार्मिक उत्साह र सामुदायिक एकताको अद्भुत उदाहरण प्रस्तुत गरेको छ।






