कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तु को मायादेवी गाउँ पालिका वार्ड नंबर ७ स्थित श्री स्वतन्त्र माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ।
कार्यक्रम का आयोजक दलित सामाजिक विकास केन्द्र र सहयोग यूनाइटेड मिशन टु नेपाल को संयुक्त साझेदारीमा सञ्चालित “परिवर्तनका लागि बालबालिका तथा युवा र समुदाय परियोजना” अन्तर्गत तथा समुदाय युवा समाज कपिलवस्तु को समन्वय मा सम्पन्न गरिएको हो।

वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी, युवा तथा समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम मा विद्यालयका प्रधानाध्यापक अहमद गुलाम ले वृक्षारोपणले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यार्थीहरूलाई रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

त्यसैगरी, समुदाय युवा समाज कपिलवस्तु का अध्यक्ष अनूप चौधरी ले वातावरण संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले युवाहरूमा सामाजिक उत्तरदायित्व र वातावरणप्रतिको चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

आयोजक संस्थाले आगामी दिनमा पनि वातावरण संरक्षण तथा समुदाय विकाससँग सम्बन्धित विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने जनाएको छ। सहभागीहरूले वृक्षारोपण अभियानलाई सफल बनाउन सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरेका थिए कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो।





