कपिलवस्तु, जेठ २२ गते:-यशोधरा:- तराई क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मीका कारण यशोधरा गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालयमा तीन दिनका लागि गर्मी बिदा दिइएको छ।

यशोधरा गाउँपालिका कार्यपालिकाको कार्यालयको जेठ २२ गतेको निर्णयअनुसार जेठ २५ गतेदेखि २७ गतेसम्म विद्यालयमा गर्मी बिदा दिइएको हो। गाउँपालिकाले उक्त बिदा वर्षे बिदाबाट मिलान गरिने जनाएको छ।
गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीद्वारा जारी सूचनामा अत्यधिक तापक्रमका कारण विद्यालयमा नियमित शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भएको र विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दै गएकाले विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै तीन दिनका लागि गर्मी बिदा दिने निर्णय गरिएको हो।
बिदाको अवधिमा अभिभावकहरूले बालबालिकालाई अत्यधिक घामबाट जोगाउन तथा पर्याप्त मात्रामा पानी पिउन प्रेरित गर्न आवश्यक छ। गाउँपालिकाले सबै विद्यालयलाई निर्णय कार्यान्वयन गर्न तथा बिदापछि नियमित रूपमा पठनपाठन सञ्चालन गर्न अनुरोध गरेको छपछिल्ला दिनमा बढ्दो गर्मीका कारण कपिलवस्तुसहित तराईका विभिन्न जिल्लामा जनजीवन प्रभावित बन्दै गएको छ।




