लुम्बिनी, रुपन्देही ।
इलाका प्रहरी कार्यालय लुम्बिनीद्वारा आयोजित जनचेतनामूलक कार्यक्रममा योगदान पुर्याउने स्थानीय पत्रकार तथा स्थानीय विद्यालयका प्रधानाध्यापकहरूलाई प्रशंसा–पत्रसहित सम्मान गरिएको छ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित लुम्बिनी पवित्र उद्यानमा आयोजित शान्ति पदयात्रा, आत्महत्या न्यूनीकरण, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सफल बनाउन सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा विभिन्न निकायले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।

कार्यक्रममा इलाका प्रहरी कार्यालय लुम्बिनीका कार्यालय प्रमुख प्रहरी निरीक्षक होमनाथ रेग्मीले सम्मानित व्यक्तिहरूलाई प्रशंसा–पत्र प्रदान गर्दै समाजमा जनचेतना अभिवृद्धि गर्न सञ्चारमाध्यम, विद्यालय तथा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले लुम्बिनी, कपिलवस्तु, बुटवललगायत विभिन्न स्थानबाट सहभागी भएका नेपाल प्रहरी, विभिन्न संघ–संस्था, विद्यालय, पत्रकार तथा करिब ८ हजार महिला, पुरुष र बालबालिकाको उल्लेखनीय सहभागिता रहेको जानकारी दिए। कार्यक्रममा प्रस्तुत गरिएको जनचेतनामूलक नाटक तथा शान्ति पदयात्राले अपेक्षाभन्दा राम्रो प्रभाव पारेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै पक्षको साथ, सहयोग र सहभागिता रह्यो यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रहरी निरीक्षक रेग्मीले बताए।

कार्यक्रममा विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्थानीयवासी, सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी, पत्रकार तथा सामाजिक अभियन्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।





