लुम्बिनी। लुम्बिनीका राजेश कहाँरको जीवन संघर्ष, मेहनत र समाजसेवाको प्रेरणादायी उदाहरण बनेको छ। वि.सं. २०४३ साल कार्तिक २१ गते लुम्बिनी क्षेत्रको एक सामान्य परिवारमा जन्मिएका कहाँरले जीवनका अनेकौं चुनौती पार गर्दै आज समाजमा सकारात्मक पहिचान बनाउन सफल भएका छन्।
आर्थिक अभावका कारण उनले जीवनको सुरुआती चरणमा साइकलमा कपडा बेच्ने, विभिन्न साना–ठूला काम गर्ने लगायतका कठिन श्रम गर्दै परिवारको जिम्मेवारी सम्हाले। कठिन परिस्थितिका बाबजुद पनि उनले आफ्नो लक्ष्य र आत्मविश्वासलाई कहिल्यै कमजोर हुन दिएनन्।पछि सञ्चार क्षेत्रमा प्रवेश गरेका कहाँरले स्थानीय रेडियोमा कार्यक्रम सञ्चालन गर्दै जनताका आवाजलाई सम्बन्धित निकायसम्म पुर्याउने काम गरे।
सञ्चार क्षेत्रमा प्राप्त अनुभवले समाजका समस्या र आवश्यकतालाई अझ नजिकबाट बुझ्ने अवसर दिएको उनी बताउँछन्।हाल उनी रोजगारीको सिलसिलामा दुबईमा कार्यरत छन्। विदेशमा रहे पनि आफ्नो गाउँ, समाज र देशप्रतिको जिम्मेवारीलाई निरन्तर निभाइरहेका छन्।
उनले सुरु गरेको “Routine of Lumbini Banda” सामाजिक सञ्जाल अभियानमार्फत स्थानीय समस्या उजागर गर्ने, विकास निर्माणका विषय उठाउने, पीडितका पक्षमा आवाज बुलन्द गर्ने तथा मानवीय सहयोग जुटाउने कार्य गर्दै आएका छन्। यस अभियानले हजारौं नागरिकको विश्वास जित्न सफल भएको छ।
राजेश कहाँरका अनुसार संघर्ष कहिल्यै हार होइन, बरु सफलताको तयारी हो। उनी पद, प्रतिष्ठा वा सम्पत्तिभन्दा पनि समाजमा सकारात्मक परिवर्तन ल्याउने र सामान्य नागरिकको आवाज बन्ने लक्ष्यका साथ निरन्तर सक्रिय छन्।
उनको जीवन यात्रा आजका युवापुस्ताका लागि मेहनत, धैर्यता, इमानदारी र समाजप्रतिको उत्तरदायित्वको उत्कृष्ट प्रेरणा बनेको छ।





