कपिलवस्तु, जेठ २२ गते:-कपिलवस्तुको मायादेवी गाउँपालिका–६, मुगाहरी स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को साझेदारीमा सञ्चालित “परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय (सीवाईसीसी) परियोजना” अन्तर्गत लक्ष्मी युवा क्लब को समन्वय मा आयोजना गरिएको हो।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुका प्रमुख माधव बन्जाडे ले वातावरण संरक्षणका लागि वृक्षारोपण प्रभावकारी माध्यम भएको बताउँदै विद्यार्थीहरूलाई रोपिएका बिरुवाको संरक्षणमा सक्रिय हुन आग्रह गर्नुभयो।

त्यसैगरी, दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण तथा सीवाईसीसी परियोजनाका संयोजक जितेन्द्र चौधरी ले जलवायु परिवर्तनका चुनौती न्यूनीकरण गर्न वृक्षारोपण अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोपेका थिए।





