राजाराम चौधरीकपिलवस्तु । शिवराज नगरपालिकाले नगर क्षेत्रमा सञ्चालित होटल, लज तथा अन्य व्यवसायहरूको अनुगमनलाई तीव्र बनाएको छ। नगर क्षेत्रमा सञ्चालन भइरहेका व्यवसायले प्रचलित नियम तथा मापदण्ड पालना गरे–नगरेको विषयमा नगरपालिकाले स्थलगत निरीक्षणलाई प्राथमिकता दिएको हो।
सोमबार गरिएको स्थलगत अनुगमनका क्रममा स्पा तथा डान्सबारजन्य गतिविधिसँग सम्बन्धित प्रचार–प्रसार सामग्रीमाथि समेत निगरानी बढाइएको थियो। अनुगमनका क्रममा स्पासँग सम्बन्धित ब्यानर तथा प्रचार सामग्री हटाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले व्यवसाय सञ्चालन गर्दा आवश्यक कानुनी प्रक्रिया तथा मापदण्ड पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको छ। साथै, अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ।नगर क्षेत्रभित्र सञ्चालित होटल, लज तथा अन्य व्यवसायलाई व्यवस्थित, मर्यादित र नियमअनुसार सञ्चालन गराउन अनुगमनलाई प्रभावकारी बनाउने नगरपालिकाको तयारी रहेको छ।





