लुम्बिनी, असोज १३। भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व र पर्यटक सहजीकरणका विषयमा नेपाल प्रहरीका ४५ जना कर्मचारीलाई विशेष प्रशिक्षण प्रदान गरिएको छ।

२०८३ साल असोज १३ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीको आयोजनामा ‘Know Lumbini, Serve Better: Police Knowledge Enhancement’ कार्यक्रम सम्पन्न भएको हो।

लुम्बिनी क्षेत्रको शान्ति सुरक्षामा खटिएका इलाका प्रहरी कार्यालय, लुम्बिनी; नेपाल प्रहरी विशेष सुरक्षा गण, सुनवल; लुम्बिनी बेस; पर्यटक प्रहरी, लुम्बिनी; तथा अस्थायी प्रहरी बिट, महिलवारमा कार्यरत ४५ जना प्रहरी कर्मचारीको कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रममा लुम्बिनी विकास कोषका वरिष्ठ सूचना अधिकृत डा. हरिध्वज राईले प्रहरी कर्मचारीलाई भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व, धार्मिक एवं सांस्कृतिक पक्ष तथा लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई सहज रूपमा सेवा र सहजीकरण गर्ने विषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो।

लुम्बिनीको ऐतिहासिक तथा सांस्कृतिक महत्त्वबारे प्रहरी कर्मचारीलाई जानकारी गराउँदै पर्यटकमैत्री प्रहरी सेवा प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।






