कपिलवस्तु । मायादेवी गाउँपालिका, पकडीमा आज तीन जना कर्मचारीको बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाबाट बिदाइ भएर जान लागेका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र प्रसाद यादव, प्रशासकीय अधिकृत बैतुल्लाह धुनिया र कृषि प्राविधिक बालकृष्ण बरईलाई गाउँपालिका परिवारले सम्मानसहित बिदाइ गरेको हो।गाउँपालिकामा कार्यरत रहँदा प्रशासनिक व्यवस्थापन, सेवा प्रवाह तथा जनप्रतिनिधि र कर्मचारीबीचको समन्वयमा योगदान पुर्याएका तीनै जना कर्मचारीलाई आगामी कार्यक्षेत्रका लागि शुभकामना दिँदै बिदाइ गरिएको हो।
यादव यसअघि सर्लाहीको धनकौल गाउँपालिकाबाट मायादेवी गाउँपालिका, कपिलवस्तुमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटिनुभएको थियो। मायादेवीमा आफ्नो जिम्मेवारी पूरा गरेपछि उहाँ आफ्नै क्षेत्रतर्फ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न जान लाग्नुभएको हो।
बिदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमान, उपाध्यक्ष सरस्वती यादव, आठवटै वडाका वडाध्यक्ष, जनप्रतिनिधि तथा गाउँपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष इसहक मुसलमान, वडा नं. २ का अध्यक्ष महम्मद हुसेन मुसलमान, वडा नं. ३ का अध्यक्ष शैलेन्द्र कुमार यादव, वडा नं. ४ का अध्यक्ष अस्फाक अहमद मुसलमान, वडा नं. ५ का अध्यक्ष राघवेन्द्र प्रसाद पाण्डेय, वडा नं. ६ का अध्यक्ष सन्दीप कुमार चौधरी, वडा नं. ७ का अध्यक्ष जर्नादन प्रसाद चौधरी कुर्मी र वडा नं. ८ का अध्यक्ष मुस्ताक अहमद मुसलमानको सहभागिता रहेको थियो।
वडाध्यक्षहरूले तीनै जना कर्मचारीसँगको कार्यसम्बन्ध र सहकार्यलाई स्मरण गर्दै मायादेवीमा रहँदा पुर्याएको योगदानको प्रशंसा गरेका थिए। उनीहरूले नयाँ कार्यक्षेत्रमा पनि जिम्मेवारी सफलतापूर्वक पूरा गर्न शुभकामना दिँदै मायादेवीसँगको आत्मीय सम्बन्ध निरन्तर रहने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमका सञ्चालक तथा योजना शाखाका प्रमुख रामकृष्ण तेलीले बिदाइ भएर जान लागेका तीनै जना कर्मचारीलाई सम्मान तथा शुभकामना व्यक्त गर्नुभएको थियो। तेलीले मायादेवीमा कार्यरत रहँदा नरेन्द्र प्रसाद यादव, बैतुल्लाह धुनिया र बालकृष्ण बरईसँग भएको सहकार्य तथा समन्वयलाई स्मरण गर्दै आगामी कार्यक्षेत्रका लागि सफलताको शुभकामना दिनुभएको थियो।
उहाँले यसअघि गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको थियो।कार्यक्रममा वरिष्ठ लेखक अधिकृत प्रकाश गौतम, सहायक लेखक अधिकृत जटाशंकर पाण्डेलगायत कर्मचारी तथा अन्य उपस्थित व्यक्तिहरूले पनि बिदाइ भएर जान लागेका तीनै जना कर्मचारीको योगदान स्मरण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।
त्यसैगरी कार्यक्रममा पत्रकार सुरेश कुमार पाण्डेको समेत उपस्थिति रहेको थियो। पाण्डेले गाउँपालिकामा कार्यरत रहँदा तीनै जना कर्मचारीले निर्वाह गरेको जिम्मेवारी र जनप्रतिनिधि तथा कर्मचारीबीच कायम गरेको समन्वयलाई स्मरण गर्दै जिम्मेवारी परिवर्तन भए पनि सहकार्यबाट बनेको सम्बन्ध र आत्मीयता कायम रहने धारणा व्यक्त गर्नुभएको थियो।यादव : ‘मायादेवीमा रहँदा सबैबाट राम्रो साथ पाएँ’बिदाइ मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र प्रसाद यादवले मायादेवी गाउँपालिकामा काम गर्ने अवसर पाएकोमा खुसी व्यक्त गर्नुभयो।
उहाँले कार्यकालका क्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीबाट प्राप्त सहयोग र सद्भावलाई आफूले सधैँ सम्झिरहने बताउनुभयो।यादवले मायादेवी गाउँपालिकाका कर्मचारीहरूबीचको सहकार्य र आपसी समन्वय राम्रो रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबैले मिलेर जनताको सेवामा निरन्तर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।उहाँले मायादेवीमा रहँदा प्राप्त भएको साथ, सहयोग र कार्यअनुभव आफ्ना लागि सधैँ स्मरणीय रहने बताउँदै नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा आउन लाग्नुभएका दिनेश सरुलाई पनि सबै जनप्रतिनिधि तथा कर्मचारीले आवश्यक साथ, सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष मुसलमानद्वारा मायाको चिनोसहित सम्मानकार्यक्रममा गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले तीनै जना कर्मचारीको योगदानको स्मरण गर्दै आगामी कार्यक्षेत्रका लागि शुभकामना व्यक्त गर्नुभयो।अध्यक्ष मुसलमानले कार्यसम्पादनका क्रममा आफूबाट कुनै कमी–कमजोरी वा गल्ती भएको भए त्यसलाई मनमा नराखी क्षमा गरिदिन आग्रह गर्दै
जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने बताउनुभयो।उहाँले नरेन्द्र प्रसाद यादवको सरल व्यवहार, कर्मचारी तथा जनप्रतिनिधिसँगको समन्वय र कामप्रतिको जिम्मेवारीको प्रशंसा गर्दै जहाँ रहे पनि मायादेवीसँगको सम्बन्ध र आत्मीयता कायम रहने धारणा व्यक्त गर्नुभयो।
बिदाइका क्रममा गाउँपालिका अध्यक्ष वलिउद्दीन मुसलमानले मायाको चिनो प्रदान गर्दै सम्मान गर्नुभएको थियो भने योजना शाखाका कर्मचारी रामकृष्ण तेलीले समेत बिदाइ भएर जान लागेका तीनै जना कर्मचारीलाई सम्मान तथा शुभकामना व्यक्त गर्नुभएको थियो।मायादेवी गाउँपालिकाबाट तीन जना कर्मचारी एकैपटक बिदाइ भएर नयाँ जिम्मेवारीतर्फ लागेपछि कार्यक्रम भावनात्मक बनेको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले तीनै जनालाई आगामी कार्यक्षेत्रमा सफलताको शुभकामना दिँदै मायादेवीबाट बिदाइ गरेका थिए।
‘फेरि भेटौँला’ भन्ने आत्मीय भावका साथ सम्पन्न बिदाइ कार्यक्रमले मायादेवी गाउँपालिका परिवार र बिदाइ भएर जान लागेका कर्मचारीबीचको सहकार्य, सम्बन्ध र आत्मीयतालाई झल्काएको थियो।





