दुर्गेश मिश्राकपिलवस्तु असोज २० गते ।दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै यात्रुहरूको यात्रा सहज, व्यवस्थित तथा सुरक्षित बनाउन कपिलवस्तुका नौ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा तौलिहवा बसपार्कमा आयोजित कार्यक्रममा कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले ब्यानर पढेर यात्रु सहायता कक्षको शुभारम्भ गरे।

चाडपर्वका समयमा यात्रुको चाप बढ्ने भएकाले टिकट नपाउने, यात्रु ठगिने, सामान हराउने तथा अन्य समस्या आउन सक्ने भन्दै सहायता कक्षले यात्रुलाई आवश्यक सहयोग गर्ने मेयर पौडेलले बताए। उनले कपिलवस्तु संवेदनशील जिल्ला भएकाले धार्मिक सद्भाव कायम हुने गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्नेमा जोड दिए।

निमित्त प्रमुख जिल्ला अधिकारी विश्वेश्वर घिमिरेले चाडपर्व लक्षित एकीकृत सुरक्षा रणनीति बनाएर यात्रुको सुरक्षालाई प्राथमिकता दिइएको बताए।प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार सीमाक्षेत्रका कृष्णनगर, मर्यादपुर र चाकरचौडा तथा सीमाक्षेत्र बाहिर तौलिहवा, चन्द्रौटा, गोरुसिङ्गे, पिपरा, बहादुरगन्ज र पकडीमा गरी नौ स्थानमा सहायता कक्ष स्थापना गरिएको हो।
प्रहरी निरीक्षक मनोहर भट्टका अनुसार नौवटै सहायता कक्षमा प्रहरी र ट्राफिक प्रहरीको टोली परिचालन गरिएको छ। समस्यामा परेका यात्रुलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले बताए।विशेषगरी भारतबाट दसैँका बेला नेपाल फर्किने नेपाली यात्रुको चाप बढ्ने भएकाले सीमा नाकामा निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाइएको प्रहरीले जनाएको छ।
यात्रु ठगी लुटपाट तथा सडक दुर्घटना न्यूनीकरणका लागि पर्चा पम्प्लेट वितरणसँगै सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिनेछ।प्रहरीले आपत्कालीन अवस्थाका लागि क्विक रेस्पोन्स टिम समेत परिचालन गर्ने जनाएको छ। यात्रु सहायता कक्ष दसैँ, तिहार र छठ पर्व अवधिभर सञ्चालनमा रहनेछ।





