कपिलवस्तु, असोज १ गते । यशोधरा गाउँपालिका–५, मुडिला गाउँस्थित श्री जनता आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई निःशुल्क विद्यालय ब्याग वितरण गरिएको छ।

समाजसेवी मन्टु मिश्र (राजीव कुमार मिश्र) को सहयोगमा अभिभावकहरूको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो।विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने उद्देश्यले आयोजित कार्यक्रममा विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई विद्यालय ब्याग वितरण गरिएको थियो।

शैक्षिक सामग्रीको अभावका कारण विद्यार्थीको पढाइमा पर्न सक्ने कठिनाइलाई केही हदसम्म कम गर्ने उद्देश्यले सहयोग गरिएको समाजसेवी मिश्रले बताए।कार्यक्रमकै अवसरमा विद्यालयको शैक्षिक विकासमा लामो समय योगदान पुर्याएका पूर्व शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो।
शिक्षकहरूको योगदानको कदर गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ।विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री सहयोग गर्नुका साथै पूर्व शिक्षकको योगदानलाई सम्मान गर्ने कार्यले विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीमा सकारात्मक सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

शिक्षा क्षेत्रमा गरिएको यस्तो सहयोगले विद्यार्थीहरूलाई पढाइप्रति थप प्रेरित गर्नुका साथै समाजमा सहयोग, सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।






