दुर्गेश मिश्रा कपिलवस्तु, असोज १० गते ।बाल दिवसको अवसरमा मायादेवी गाउँपालिका ५ बलुहवास्थित श्री जनता माध्यमिक विद्यालयमा रक्तदान कार्यक्रमसँगै बाढीपीडितका लागि सहयोग संकलन गरिएको छ।विद्यालयको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा विद्यार्थी, पूर्वविद्यार्थी, शिक्षक, अभिभावक तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटी कपिलवस्तु जिल्ला शाखाको प्राविधिक सहयोग तथा वडा कार्यालय बलुहवाको सहकार्यमा श्री जनता माध्यमिक विद्यालय को आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो।

यसै अवसरमा विद्यालयका विद्यार्थीहरूले आफ्नो क्षमताअनुसार सानो–सानो रकम बचत गरी १३ हजार रुपैयाँ संकलन गरेर बाढीपीडितका लागि सहयोग गरेका छन्।

विद्यार्थीहरूले सामूहिक रूपमा रकम जुटाउँदै विपद्को पीडामा परेकाहरूलाई साथ दिने मानवीय भावना प्रस्तुत गरेका हुन्।सानो–सानो योगदानबाट संकलित रकमले विद्यार्थीहरूमा सामाजिक उत्तरदायित्व, सहयोगी भावना र मानवीय सेवाको चेतना बलियो हुँदै गएको सन्देश दिएको छ।
विपद्को समयमा सहयोगका लागि ठूलो रकमभन्दा पनि सामूहिक भावना, एकता र मानवीय संवेदना महत्वपूर्ण हुने उदाहरण विद्यार्थीहरूले प्रस्तुत गरेका छन्।विद्यालयका प्रधानाध्यापक रामनिवास चौहानले रक्तदान तथा बाढीपीडित सहयोगजस्ता मानवीय कार्यमा विद्यार्थी, शिक्षक, अभिभावक र समुदायको सहभागिता उत्साहजनक रहेको बताउनुभयो। चौहानले विद्यालयले शिक्षासँगै विद्यार्थीमा सामाजिक सेवा र मानवीय भावनाको विकासमा समेत जोड दिँदै आएको उल्लेख गर्नुभयो।





