रुपन्देही, लुम्बिनी — लुम्बिनी सांस्कृतिक नगरपालिका मा आज भव्य रूपमा श्री रुमिनदेई माई चैत्र पूर्णिमा मेला–२०८२ को उद्घाटन सम्पन्न भएको छ। उद्घाटनसँगै आयोजित बहुसांस्कृतिक कलश शोभायात्राले लुम्बिनी क्षेत्रलाई उत्साहमय बनाएको थियो।

लुम्बिनीको ५ नम्बर गेटबाट सुरु भएको शोभायात्रा मायादेवी मन्दिर को परिक्रमा गर्दै मायादेवी पोखरीमा पुगेको थियो। त्यहाँबाट जल भरेर पुनः मेला स्थलको मञ्चसम्म दूमधामका साथ ल्याइएको थियो।
शोभायात्रामा थारु समुदायसहित हिन्दू, मुस्लिम तथा बौद्ध धर्मावलम्बीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरू आ–आफ्नो मौलिक सांस्कृतिक पहिरनमा सजिएर डफला बाजासहित सहभागी हुँदा लुम्बिनी क्षेत्र सांस्कृतिक रंगले झलमल्ल बनेको थियो।

कार्यक्रम नगर प्रमुख श्री कल्पना हरिजनको अध्यक्षतामा सम्पन्न भएको थियो भने विभिन्न जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा राष्ट्रिय गान, शहीदप्रति मौनधारण, स्वागत मन्तव्य तथा शुभकामना आदान–प्रदान समेत गरिएको थियो।

मेला व्यवस्थापन समितिका अनुसार, आजदेखि सुरु भएको यो मेला लगातार ५ दिनसम्म सञ्चालन हुनेछ। मेलामा विभिन्न सांस्कृतिक कार्यक्रम, गीत–संगीत, नृत्य, सर्कस, जादु तथा अन्य मनोरञ्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन्।

धर्म, संस्कृति र एकताको सन्देश—लुम्बिनीमा ५ दिने महोत्सव सुरुबहुसांस्कृतिक सहभागितासहित सम्पन्न शोभायात्राले धार्मिक सहिष्णुता, एकता र सांस्कृतिक विविधताको सशक्त सन्देश दिएको छ। आयोजकका अनुसार यस मेलाले पर्यटन प्रवर्द्धनसँगै स्थानीय कला–संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






