कपिलवस्तु, रतनपुर स्थित श्री स्वतन्त्र माध्यमिक विद्यालयमा विद्यार्थी भर्ना अभियान उत्साहजनक रूपमा सम्पन्न भएको छदलित सामाजिक विकास केन्द्र र यूनाइटेड मिशन टु नेपालको संयुक्त साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका तथा युवा र समुदाय परियोजना” अन्तर्गत अभियान आयोजना गरिएको हो।

उक्त परियोजनाको समन्वय मायादेवी गाउँपालिकाले गरेको थियो भने कार्यक्रमको आयोजना समुदाय युवा समाज कपिलवस्तुले गरेको हो।अभियानमा विद्यालयका प्रधानाध्यापक अहमद गुलाम मुसलमान नेतृत्वमा समुदाय युवा समाज कपिलवस्तुका अध्यक्ष अनूप चौधरी, शिक्षक, विद्यार्थी तथा स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।
टोलीले गाउँ–गाउँ तथा घर–घर पुगेर अभिभावकलाई शिक्षाको महत्वबारे जानकारी गराउँदै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउन आग्रह गरेको थियो।कार्यक्रममा वक्ताहरूले शिक्षा समाज परिवर्तनको मुख्य आधार भएकाले प्रत्येक बालबालिकालाई विद्यालय शिक्षासँग जोड्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका थिए।

साथै अभिभावकलाई आफ्ना बालबालिकालाई नियमित रूपमा विद्यालय पठाउन आग्रह गरिएको थियो।स्थानीय स्तरमा सञ्चालन गरिएको यस अभियानले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको आयोजकले जनाएको छ।






