कपिलबस्तु, जेठ ४ गतेकपिलवस्तु — जिल्लाको चाकरचौडा वार्डर क्षेत्रबाट करिब २० किलो अवैध माछा बरामद गरिएको छ। भारतबाट सीमा क्षेत्र हुँदै अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको माछा सशस्त्र प्रहरी बलको खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

बरामद गरिएको माछा पछि नष्ट गरिएको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार नियमित गस्ती तथा विशेष सूचनाका आधारमा खटिएको टोलीले सीमा क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि चेकजाँच गरेको थियो।
जाँचका क्रममा प्याजभित्र लुकाइछिपाइ गरेर ल्याइएको अवस्थामा माछा फेला परेको हो।सशस्त्र प्रहरीले अवैध रूपमा भित्र्याइएका सामग्री नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरेको जनाएको छ।
सीमा क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको पनि सशस्त्र प्रहरी बल ले जानकारी दिएको छ।





