कपिलबस्तु, जेठ ५ गते कपिलबस्तु :-दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल को संयुक्त साझेदारीमा सञ्चालित “परिवर्तनका लागि बालबालिका, युवा तथा समुदाय परियोजना” को सहयोगमा मायादेवी गाउँपालिका वडा नं. ७ अन्तर्गतका सम्पूर्ण टोलका गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

आयोजित कार्यक्रममा वडा अध्यक्ष जनार्दन प्रसाद चौधरी ले विद्यार्थीहरूलाई झोला, १दर्जन कापी, कलम, पेन्सिल तथा जेमेट्रिक बक्स लगायतका शैक्षिक सामग्री वितरण गर्नुभयो।कार्यक्रममा बोल्दै वडा अध्यक्ष चौधरीले आर्थिक रूपमा कमजोर तथा अध्ययनमा लगनशील विद्यार्थीहरूको शैक्षिक यात्रालाई सहज बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

उहाँले शिक्षाको पहुँच विस्तार तथा विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह जगाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। बालबालिका, युवा तथा समुदाय परियोजनाले बालबालिका, युवा तथा समुदायको समग्र विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसै अन्तर्गत विद्यालय शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण गरिएको हो।

कार्यक्रमबाट लाभान्वित विद्यार्थी तथा अभिभावकहरूले आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन्। स्थानीय स्तरमा शिक्षा प्रवर्द्धन र विद्यार्थीहरूको मनोबल वृद्धि गर्ने उद्देश्यले गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।






