कपिलबस्तु, जेठ ९ गतेरुपन्देही— रुपन्देही प्रहरीले नक्कली नेपाली नोट छाप्ने कार्यमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गोप्य सूचनाको आधारमा गरिएको अनुसन्धानका क्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रबाट दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर निवासी ४८ वर्षीय अब्दुल हमिद र लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बस्ने २२ वर्षीय अनिल पासी रहेका छन्।प्रहरीले उनीहरूको साथबाट सिरियल नम्बर ङ २५०२४९१२ रहेको पाँच सय दरका ३० थान नक्कली नेपाली नोट,
एक सय, पाँच सय र एक हजार दरका छापिएका तर काट्न बाँकी ७ थान नोट, नोट छाप्न प्रयोग गरिएको एक थान कम्प्युटर (CPU), एक थान प्रिन्टर, एक थान मोनिटर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल फोन तथा एक थान कैंची बरामद गरेको जनाएको छ ।बरामद सामग्रीसहित पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।






