कपिलवस्तु भदौ १८ गते ।कपिलवस्तुको सदरमुकाम तौलिहवामा नेपालश्री ट्रेडर्स (होण्डा शोरुम) र कपिलवस्तु कंक्रिट ब्लक उद्योग औपचारिक रूपमा सञ्चालनमा आएका छन्।

तौलिहवा नगरपालिका–१, नयाँटोलमा स्थापना गरिएका यी दुवै व्यवसायको लुम्बिनी प्रदेशका आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्री माननीय भण्डारी लाल यादवले एक भव्य समारोहबीच संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो।नेपालश्री ट्रेडर्स होण्डा कम्पनीका मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेताका रूपमा सञ्चालनमा आएको छ।

शोरुम सञ्चालनमा आएसँगै कपिलवस्तुका ग्राहकहरूले होण्डाका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर खरिद गर्नुका साथै आवश्यक सेवा तथा सुविधाहरू स्थानीयस्तरमै प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
त्यस्तै, कपिलवस्तु कंक्रिट ब्लक उद्योगले निर्माण क्षेत्रमा आवश्यक कंक्रिट ब्लक तथा अन्य सामग्री उत्पादन र आपूर्तिमा योगदान पुर्याउने लक्ष्य लिएको छ। जिल्लामै नयाँ उद्योग तथा व्यवसाय सञ्चालनमा आउनुले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नुका साथै आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ।यी दुवै व्यवसायमा चार युवा व्यवसायीहरूको साझेदारी रहेको छ।
सञ्चालक तथा साझेदारहरूमा अनुप कुमार पाण्डेय, रत्नाकर शुक्ला, दिवेश जयसवाल र इश्तीकार अहमद रहेका छन्। युवाहरूको लगानी र सहकार्यबाट सञ्चालनमा आएका यी उद्योग तथा व्यवसायले कपिलवस्तुको व्यापारिक र औद्योगिक क्षेत्रलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहमा प्रदेश सांसद सुधाकर पाण्डे, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री शासराम यादव, पूर्व प्रदेश सभा सदस्य दीर्घनारायण पाण्डे, पूर्वमन्त्री ईश्वर दयाल मिश्र, बुद्धभूमि नगरपालिका–१० का वडाध्यक्ष सन्दीप पाण्डे तथा कपिलवस्तु नगरपालिका–१ का वडाध्यक्ष जाहिद खान लगायत जनप्रतिनिधि, व्यवसायी तथा स्थानीयको उल्लेखनीय उपस्थिति रहेको थियो।






