कपिलवस्तु, भदौ २१ गते ।महाराजगन्ज नगरपालिकाले सञ्चालन गरेको निःशुल्क आँखा शिविरबाट १ हजार १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

नगरपालिकाको आयोजना तथा छन्द कालेबाबू नारायणी आँखा अस्पताल, बहादुरगन्जको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा आँखा परीक्षण, उपचार तथा परामर्श सेवा प्रदान गरिएको थियो शिविरमा परीक्षण गराएका बिरामीमध्ये १५० भन्दा बढी मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको नगरपालिकाले जनाएको छ

आर्थिक अवस्था कमजोर तथा अस्पतालसम्म सहज पहुँच नभएका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरबाट ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका नागरिकले सेवा लिएका थिए ।

नगर प्रमुख अब्दुल कलामले नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो उहाँले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरलाई निरन्तरता दिइने बताउनुभयो ।
महाराजगन्ज १ का वडाध्यक्ष प्रमोद चौधरीले गाउँघरमै निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पाएपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको बताउनुभयो । विशेषगरी मोतियाबिन्दु भएका ज्येष्ठ नागरिकका लागि शिविर प्रभावकारी भएको उहाँको भनाइ छ ।शिविरमा आँखा परीक्षणका क्रममा पहिचान भएका मोतियाबिन्दुका बिरामीको आवश्यक परीक्षणपछि शल्यक्रिया गरिएको थियो ।






