कपिलवस्तु, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकहरूको सम्झनामा तौलिहवा उद्योग वाणिज्य सङ्घले सोमबार तौलिहवामा शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गरेको छ।

तौलिहवा प्रशासन चोकमा आयोजित कार्यक्रममा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मृतकको आत्माको चिरशान्तिको कामना गरिएको थियो। सहभागीहरूले दीप प्रज्वलनमार्फत शोकसन्तप्त परिवारप्रति समवेदना तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रममा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गयादिन कुर्मी, पदाधिकारी, कार्यसमिति सदस्य, उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको थियो।अध्यक्ष कुर्मीले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक राहत, उद्धार तथा पुनःस्थापनाका लागि सबै पक्ष एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो।
कार्यक्रममा बेपत्ता नागरिकको खोजीलाई तीव्रता दिन तथा प्रभावित परिवारलाई तत्काल आवश्यक राहत र सहयोग उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रहसमेत गरिएको थियो।






