कपिलवस्तु, भदौ २२ गते । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी ज्यान गुमाएका सम्पूर्ण मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेपाल सरकारको निर्णयअनुसार राष्ट्रिय शोक प्रकट गरिएको छ।

राष्ट्रिय शोकका अवसरमा कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले मृतकहरूको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली तथा मौनधारण कार्यक्रम सम्पन्न गरेको हो।

आज बिहान गाउँपालिकाको प्रशासनिक भवन परिसरमा गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरी तथा राष्ट्रसेवक कर्मचारीहरूको उपस्थितिमा एक मिनेट मौनधारण गरिएको थियो।सो अवसरमा प्रशासनिक भवन परिसरमा राष्ट्रिय झण्डा आधा झुकाएर बाढीमा परी दिवंगत भएकाहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको थियो।
साथै, गाउँपालिकाले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूको आत्माको चिरशान्तिको कामना गरिएको गाउँपालिकाले जनाएको छ।







