कपिलवस्तु, भदौ २३ गते । बुद्धभूमि नगरपालिका–१० स्थित धनकौली स्वास्थ्य चौकीमा पोर्टेबल अल्ट्रासाउन्ड (USG) मेसिन ल्याइएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बुटवलबाट प्राप्त मेसिन स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।
वडाध्यक्ष सन्दीप पाण्डेको पहल तथा प्रदेश सरकारसँगको समन्वयमा मेसिन ल्याइएको हो। गर्भवती महिलालाई स्थानीयस्तरमै सहज रूपमा स्वास्थ्य परीक्षण गराउने उद्देश्यले मेसिन ल्याइएको वडाध्यक्ष पाण्डेले बताए।मेसिन सञ्चालनका लागि आवश्यक तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था गरी गर्भवती महिलालाई निःशुल्क अल्ट्रासाउन्ड सेवा प्रदान गर्ने तयारी गरिएको छ।
यसबाट आर्थिक रूपमा कमजोर तथा स्वास्थ्य संस्थासम्म पहुँचमा समस्या भएका गर्भवती महिलालाई विशेष राहत पुग्ने अपेक्षा गरिएको छ।समयमै गर्भावस्थाको अवस्था पहिचान गरी आवश्यक उपचार तथा परामर्श उपलब्ध गराउन यस सेवाले सहयोग पुग्ने विश्वास गरिएको छ।






