कपिलवस्तु, भदौ २५ गते ।
महिला नेतृ तथा समाजसेवी मिथुला उपाध्यायले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ मिथुला उपाध्यायले सहयोग रकमको चेक कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तान्तरण गर्नुभएको हो।
राष्ट्रिय शोक तथा विपत्तिको समयमा आफ्नो तर्फबाट सानो भए पनि सहयोग गर्नुपर्छ भन्ने भावनाले रकम सहयोग गरेको उपाध्यायले बताउनुभयो। दैनिक खर्चमा केही कटौती गरेर विपत्तिका बेला सहयोग गर्न पाउँदा आफूलाई खुसी लागेको उहाँको भनाइ छ।
विपत्तिको समयमा महिलाले पनि आफ्नो क्षमता र अवस्थाअनुसार सहयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। विपत्ति र राष्ट्रिय शोकका बेला सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ। सानो सहयोग भए पनि संकटमा परेकालाई राहत पुग्छ भन्ने विश्वास छ, उहाँले भन्नुभयो।
नारी शिल्पकला केन्द्रकी अध्यक्षसमेत रहनुभएकी उपाध्याय विभिन्न सामाजिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको छ। उहाँ भारतका लागि पूर्वनेपाली राजदूत दीपकुमार उपाध्यायकी पत्नी हुनुहुन्छ।






