कपिलवस्तु, भदौ २६ गते । जलवायु परिवर्तनका असर वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणका विषयमा मायादेवी गाउँपालिकाका विद्यार्थीले प्रभावकारी प्रस्तुति दिएका छन्।
मायादेवी गाउँपालिका २ भैंसकुण्डास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा शुक्रबार आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकलाप्रतियोगितामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, जिग्निहवा प्रथम, जनता माध्यमिक विद्यालय, बलुहवा द्वितीय र स्वतन्त्र माध्यमिक विद्यालय, रतनपुर तृतीय भएका छन्।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित जलवायु परिवर्तनका असरहरू विषयमा आयोजित प्रतियोगितामा मायादेवी गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयका विद्यार्थी सहभागी थिए।प्रतियोगितामा विद्यार्थीहरूले जलवायु परिवर्तनलाई पाठ्यपुस्तकमा सीमित विषयका रूपमा मात्र प्रस्तुत गरेनन्, यसको प्रत्यक्ष असर आफ्नै समुदाय र दैनिक जीवनमा परिरहेको विषयसमेत उठाए।

उनीहरूले बढ्दो तापक्रम, अनियमित वर्षा, बाढी, पहिरो, खडेरी, पानीको अभाव, वन विनाश तथा प्रदूषणका कारण कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी र जनजीवन प्रभावित भइरहेको बताए।विद्यार्थीहरूले वातावरण संरक्षण सरकार वा कुनै एउटा संस्थाको मात्र जिम्मेवारी नभई परिवार विद्यालय, समुदाय र स्थानीय तह सबैको साझा दायित्व भएको धारणा राखे। वृक्षरोपण पानी संरक्षण फोहोरको उचित व्यवस्थापन, प्लास्टिकको प्रयोग न्यूनीकरण तथा समुदायमा वातावरणीय चेतना फैलाउने कामबाट आफूहरूले पनि वातावरण संरक्षणमा योगदान गर्न सक्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमको अध्यक्षता शान्ति बाल क्लबकी अध्यक्ष अर्चिता कहारले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्दीन मुसलमान तथा विशिष्ट अतिथिका रूपमा शिक्षा शाखा प्रमुख हरिहर बेल्बासे, श्री जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक रामनिवास चौहान र दलित सामाजिक विकास केन्द्र का सचिव रोहितलाल कोरीको उपस्थिति थियो। विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

कार्यक्रममा परिवर्तनका लागि बालबालिका, युवा र समुदाय परियोजना (CYCC) का शिक्षा अधिकृत भोरिक केवटले प्रतियोगिताको उद्देश्यबारे प्रकाश पार्दै बालबालिकामा जलवायु परिवर्तन, वातावरण संरक्षण तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञान र चेतना अभिवृद्धि गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो प्रतियोगिताले विद्यार्थीमा नेतृत्व क्षमता विकास गर्नुका साथै आफ्ना विचार, अनुभव र आवाज सार्वजनिक रूपमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ।

‘बालबालिकाले जलवायु परिवर्तनका असर बुझेर परिवार र समुदायमा समेत वातावरण संरक्षणको सन्देश पुर्याउन सकून् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो केवटले बताउनुभयो।कार्यक्रममा सहभागी विद्यार्थीहरूले जलवायु परिवर्तनको असर सबैभन्दा बढी कमजोर तथा जोखिममा रहेका समुदायले भोग्नुपरेको भन्दै वातावरण संरक्षणसँगै विपद् जोखिम न्यूनीकरणमा स्थानीय तह, विद्यालय र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका थिए।
कार्यक्रम लुम्बिनी युवा समाज र शान्ति बाल क्लबको आयोजनामा दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिशन टु नेपाल को संयुक्त साझेदारीमा सञ्चालित परिवर्तनका लागि बालबालिका युवा र समुदाय परियोजना को सहयोगमा सम्पन्न भएको हो। कार्यक्रमको समन्वय मायादेवी गाउँपालिकाले गरेको थियो।कार्यक्रम सञ्चालन लुम्बिनी युवा समाजका सचिव ओमप्रकाश यादवले गर्नुभएको थियो।आयोजकका अनुसार प्रतियोगिताले बालबालिकामा वातावरणीय चेतना अभिवृद्धि गर्नुका साथै जलवायु परिवर्तनका चुनौतीबारे आफ्ना विचार सार्वजनिक रूपमा राख्ने अवसर प्रदान गरेको छ। बालबालिकाको आवाज वातावरण संरक्षणको आधार’ भन्ने सन्देशसहित कार्यक्रम सम्पन्न भएको हो।






