कपिलवस्तु, जेठ २६ गते।
कपिलवस्तु क्रिकेट सङ्घको चौथो जिल्ला अधिवेशनबाट प्रकाश गैरे पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विजयी उम्मेदवारहरूको नामावली अनुसार गैरेको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो।

निर्वाचन मण्डलका संयोजक अमित कुमार श्रीवास्तवका अनुसार सबै पदमा एकल उम्मेदवारी परेपछि कार्यसमिति निर्विरोध निर्वाचित भएको हो।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा विश्वेन्द्र सिंह रावल, सचिवमा अजय शर्मा तथा कोषाध्यक्षमा पद्मराज श्रेष्ठ निर्वाचित हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा दिनेश हमाल, माया नवाली, राजेश प्रताप शाक्य, चन्द्रकान्त शर्मा र ऋषिकेश श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ।

चौथो जिल्ला अधिवेशनमार्फत चयन भएको नयाँ नेतृत्वले आगामी कार्यकालमा जिल्लामा क्रिकेट खेलको विकास, खेलाडी उत्पादन, प्रशिक्षण कार्यक्रम सञ्चालन तथा प्रतियोगिताहरूलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।





